काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल इभीको युगमा प्रवेश गरिसकेको बताउनुभएको छ ।
दिगो, सुरक्षीत, वातावरणमैत्री यातायातको सुरूआत गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उहाँले बताउनुभएको हो । महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यातायात पूर्वाधारको क्षेत्रमा नेपालपछि नै रहेपनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताउनु भयो ।
उहाँकाअनुसार पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग र उत्तर दक्षिणका करिडोर रहर लाग्दो तबरले बनिरहेका छन् । उहाँले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय दुविधा देखिएको बताउनु भयो ।
दाहालकाअनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ । मन्त्री दाहालकाअनुसार डाइभिङ लाइसेन्सको समस्या हल भएको छ ।
उहाँले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको बताउनु भयो । अब लाइसेन्स दिने काम प्रदेशको भएकाले साउन १ देखि प्रदेशले नै दिने उहाँको भनाइ छ ।
दिगो भरपर्दो वातावरणमैत्री सडक बनाउन सरकार लागिरहेको छ । अहिले विश्व बैंक, एडीबी, जाइकाको सहयोगमा सडक पूर्वाधार बनिरहेको उहाँको भनाइ छ ।
अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने उहाँले बताउनु भयो । साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उहाँको भनाइ छ । मन्त्री दाहालले नेपाल सरकारले जामलाई कसरी व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताउनु भयो ।