पर्सा । वीरगंज लगायतका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको निर्णय लगतै प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र अति प्रभावित क्षेत्र बारा र पर्सामा खानेपानी आपुर्तिका लागि आज पठाएको हो ।
प्रभावित क्षेत्र तर्फ बारुण यन्त्र पठाउनु हुदै मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी समस्या समाधानका लागि सरकार सक्रिय रहेको जानकारी दिनुभयो । ५ हजार लिटरको क्षमता रहेको ८ वटा वारुणयन्त्र एकपटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गर्ने बताईएको छ । यो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापनमा नेपाली सेनाले परिचालन गर्नेछ ।
यस अघि प्रदेश सरकारले डिभिजन वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न परिचालन गरिसकेको छ । यसैगरि खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनाले पनि ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ । विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकार र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसंग अनुरोध गरेको छ ।