सिद्धबाबा क्षेत्रमा टिपर दुर्घटना, चालकको मृत्यु

वैशाख २५, २०८२ |माधव अर्याल
सिद्धबाबा क्षेत्रमा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको सिद्धबाबा क्षेत्रमा बिहीबार बेलुकी भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साइड नजिकै भएको दुर्घटनामा चालक रूपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गर्दा लु१क २५१७ नम्बरको रित्तो टिपर दुर्घटनामा परेको हो । टिपरको अचानक टायर पन्चर भई अनियन्त्रित हुँदा सडकबाट झन्डै ६५ मिटर तल तिनाउ खोलाको किनारमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभएको छ ।

दुर्घटना हुँदा चालक यादव गम्भीर घाइते भएको र प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । प्रादेशिक अस्पताल पुर्‍याइएका गम्भीर घाइते यादवको चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।