बाल मन्दिर जग्गा भाडा अनियमितता प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाल मन्दिर जग्गा भाडा अनियमितता प्रकरण : १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बाल मन्दिरको जग्गा भाडामा भएको अनियमितता प्रकरणमा बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साहलाइ विपक्षी मनाइएको छ । यसैगरी त्यस्तै श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ कोने र योगेन्द्रबहादुर शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ । 

यस्तै दीपकदास श्रेष्ठ, वृहस्पती विद्या सदनका सञ्चालक प्रवीणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयलाई पनि विपक्षी बनाइएको छ ।

उनीहरूसँग ६० करोड ३९ लाख रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर माघ दोस्रो साता जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको थियो । तर जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो । महान्यायधिवक्ता कार्यालयले फाइल अध्ययन गरेर मुद्दा चलाउने निर्णय गरेपछि ठगीमा मुद्दा लगिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

यो प्रकरणमा नाम जोडिएका चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठको भने निधन भइसकेको छ । फौजदारी कानुनको सिद्धान्तअनुसार मृत्यु भइसकेकाहरूविरुद्ध मुद्दा नचलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्लेले जानकारी दिनुभयो ।

बाल मन्दिरको जग्गा २०८९ सालसम्मका लागि भाडामा दिने सम्झौता भए पनि समयावधि सकिनुभन्दा १७ वर्षअघि नै २०७२ सालमा थप ४३ वर्षका लागि अर्थात् २१३१ सालसम्मका लागि जग्गा भाडामा दिइएको थियो । तर मिलेमतोमा अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको उजुरी परेपछि सीआईबीले अनुसन्धान गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.