सार्वजनिक लेखा समितिको भूमिकामाथि सांसदहरूकै प्रश्न

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक लेखा समितिको भूमिकामाथि सांसदहरूकै प्रश्न

काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूले नै समितिको भूमिकामाथि प्रश्न उठाएका छन् । लेखा समितिको आज बसेको बैठकमा सांसदहरूले विभिन्न विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको भन्दै समिति सरकारको छायाँ बनेको आरोप लगाएका हुन् । 

डेडिकेटेड र ट्र‌ंकलाइन, एनसेल र सिमेन्ट तथा डन्डीको मूल्य बढाइएको विषयमा छलफल गरे पनि निष्कर्षमा पुर्‍याउन नसकिएको उनीहरूको भनाइ छ । सांसदहरूले अहिले पोखरा तथा गौतमबुद्ध विमानस्थलमा भएको अनियमितताका विषयमा छलफल भए पनि निष्कर्षमा पुग्नेमा समेत शंका व्यक्त गरे । समितिले भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको आरोप समेत उनीहरूले लगाएका छन् ।

समितिको आजको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदन नै बुझाइसकेको र भैरहवा विमानस्थल अध्ययनका लागि गठित उपसमितिले प्रतिवेदन तयार नै पारिसकेपछि संयोजक र सदस्यको स्वार्थ बाझिएको भन्दै समितिमा विवाद भएको छ ।

सांसदहरूले पोखरा विमानस्थलको प्रतिवेदनले आधिकारिकता नपाउँदै सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.