राष्ट्रिय टोलीबाट उपाधि जित्ने पुरुष टिमकी महिला प्रशिक्षक चन्द्रा भण्डारीको लक्ष्य

वैशाख २१, २०८२ |प्रदीप लेखी
राष्ट्रिय टोलीबाट उपाधि जित्ने पुरुष टिमकी महिला प्रशिक्षक चन्द्रा भण्डारीको लक्ष्य

काठमाडौं । मिहिनेत, लगनशीलता र दृढसंकल्प लिएर अगाडि बढे एक दिन लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् चन्द्रा भण्डारी । हाल उनी बी डिभिजन लिग पुरुष फुटबल प्रतियोगिता अन्तर्गत ब्वाइज युनियन टिमकी प्रशिक्षक हुन् ।

चन्द्रा नेपाली फुटबलमा बी डिभिजन पुरुष टिमलाई सम्हाल्ने सम्भवतः पहिलो महिला प्रशिक्षक पनि हुन् । उनको चाहना छ- राष्ट्रिय फुटबल टिमकै मुख्य प्रशिक्षक बनेर देशलाई उपाधि दिलाउने ।

कैलालीको घुँइयाघाटमा जन्मिएकी चन्द्रा भण्डारी सानैदेखि फूर्तिलो स्वाभावकी थिइन् । स्कुल पढ्दै गर्दा साथीहरूलाई कहिल्यै दौडमा जित्न दिइनन् । कक्षा ७ मा पढ्दै गर्दा वीरेन्द्र शिल्ड प्रतियोगितामा भाग लिएका बेला उनी दौडेको देखेर स्वर्गीय फुटबल प्रशिक्षक लालबहादुर खड्काले फुटबल खेल्न सुझाए । र, १३ वर्षको कलिलो उमेरदेखि नै सुरु भयो उनको फुटबल यात्रा ।

राम्रो दौडने भएकाले सुरुदेखि नै स्ट्राइकरको भूमिकामा उत्रिएकी उनी प्रायः हरेक खेलमा गोल गर्थिन् । जिल्लास्तरीय प्रतियोगितादेखि नै उत्कृष्ट खेलाडीको पुरस्कार पाउन थालेपछि झन् फटबलप्रति लगाव बढ्दै गयो । काठमाडौंको हल्चोकमा भएको क्षेत्रीय प्रतियोगितामा पहिलो सहभागितामै उनले गोलको वर्षा गरिन् । त्यही प्रदर्शनको आधारमा पुलिस एकेडेमीमा भर्ना भइन् ।

पुलिसमा भर्ना हुँदाताका फुटबलको महिला टिम थिएन । सोही कारण उनलाई कबड्डीमा छनोट गरियो । तर उनलाई कबड्डीमा खासै रुचि थिएन । त्यही कारण उनी आफैंले महिला फुटबल टिम बनाइन् ।

पुलिस टिमबाटै उनी राष्ट्रिय टिममा छनोट भएर कप्तानसम्मको भूमिका निर्वाह गर्ने अवसर पाइन् । खेलाडी जीवनबाट सन्न्यास लिएपछि उनको यात्रा प्रशिक्षणतिर मोडियो । यहीबीचमा विवाह गरेपछि केही वर्ष फुटबलबाट टाढिए पनि परिवारको प्रेरणा र प्रोत्साहनले उनको खेलयात्राले निरन्तरता पायो ।

अहिले उनी बी डिभिजन लिगमा ब्वाइज युनियन टिमको प्रशिक्षणको भूमिका निर्वाह गरिरहेकी छिन् । उनले कुशलतापूर्वक पुरुष टिमलाई प्रशिक्षण दिइरहेकी छन् र खेलाडी पनि उनको प्रशिक्षणबाट सन्तुष्ट छन् ।

अब, चन्द्राको चाहना छ, कुनै दिन ए डिभिजनका क्लबको प्रशिक्षक बन्ने र राष्ट्रिय महिला फुटबल टिमलाई नेतृत्व गर्ने । पहिलो पटक नेपाली फुटबलमा महिला प्रशिक्षकको इतिहास रचिसकेकी चन्द्राको चाहना छिट्टै पूरा होस् ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।