काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ । नीति तथा कार्यक्रममाथि धारणा तय गर्न शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले विरोध जनाएपछि सभापति शेरबहादुर देउवा सरकारप्रति पूरै रक्षात्मक बन्नुपर्यो । पार्टीभित्र मात्र नभई कांग्रेस नेताहरूले नीति तथा कार्यक्रम एमालेकरण गरिएको भन्दै सार्वजनिक कार्यक्रममै आलोचना गरिरहेका छन् ।
नीति तथा कार्यक्रमका कुन-कुन विषयमा हुन् त कांग्रेसका असन्तुष्टि ?
नेपाली कांग्रेसलाई सरकारको नीति तथा कार्यक्रमले लिएको नारा नै मन परेको छैन । त्यसमा समावेश गरिएका कार्यक्रमको नाम पनि उसलाई मन परेको छैन । गठबन्धन सरकारको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमै सांसदहरूले तीव्र असन्तोष पोखे । सभापति शेरबहादुर देउवालाई बचाउ गर्नै हम्मेहम्मे पर्यो ।
नेकपा एमालेले अघिल्लो कार्यकालदेखि नै प्रयोग गर्दै आएको नारा 'समृद्ध नेपाल सुखी नेपाली'लाई उसले यस पटक नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । त्यसको साटो 'समुन्नत नेपाल सम्मानित नेपाली' नारा राख्नुपर्ने उनीहरूको तर्क छ । आफू ठूलो दलका रूपमा सरकारमा सामेल हुँदा पनि नारा भने एमालेकै बोक्नुपरेको भन्दै उनीहरूले कांग्रेस सांसदहरूले गुनासो गरेका छन् ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति चुरे तराई मधेश संरक्षण जस्ता कार्यक्रमबाट राष्ट्रपति शब्द हटाएइको पनि कांग्रेसलाई चित्त बुझेको छैन । एमालेका तर्फबाट निर्वाचित राष्ट्रपति रहेका बेला नहटाउने तर कांग्रेसबाट निर्वाचित राष्ट्रपति रहेका बेला ती कार्यक्रमबाट राष्ट्रपति शब्द हटाएर एमालेले कुनै सन्देश दिने खोजेको हो ? कांग्रेस सांसदहरूको प्रश्न छ ।
अर्कोतिर व्यवस्थाविरोधी गतिविधिका साथै सेवा प्रवाहलाई लिएर आमअसन्तुष्टि बढिरहेको सन्दर्भमा तिनलाई सम्बोधन गर्ने खालका कार्यक्रम नआएकोमा समेत कांग्रेस सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
त्यस्तै चीनसँग बीआरआइ सम्झौता गर्दा एमालेका स्वर्गीय नेता मदन भण्डारीको नाममा विश्वविद्यालय निर्माणको सम्झौता गर्ने तर कांग्रेसका नेताका नाममा कुनै विश्वविद्यालय प्रस्तावित नगरिएकोमा कांग्रेस सांसदहरूको असन्तुष्टि छ । नीति तथा कार्यक्रममा पार्टी छायाँमा परेको र आफ्ना कार्यक्रम नै समावेश नभएको भन्दै संसोधन हाल्नुपर्ने पक्षमा समेत उनीहरू बढेका छन् । विशेषगरी कृषि उत्पादन बढाउने र श्रमिकको सुरक्षा गर्ने खालका ठोस कार्यक्रम नआएकोमा असन्तुष्टि छ ।
सरकारले गर्ने राजनीतिक नियुक्तिमा एमालेकरण गरिएको तथा राज्यमन्त्री कान्छाराम तामाङलाई पार्टीले फिर्ता बोलाउनुपर्नेमा प्रधानमन्त्रीले बर्खास्त गरेको जस्ता विषयसमेत कांग्रेसभित्र चर्को बहसको विषय बनेको छ ।
नीति तथा कार्यक्रमाथि सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र देखिएको असन्तुष्टि सदनमा समेत प्रकट हुने देखिएको छ । भलै सभापति शेरबहादुर देउवाले रचनात्मक सुझाव राख्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । तर नीति तथा कार्यक्रमाथि सदनमा छलफल हुँदा कांग्रेसभित्रको असन्तुष्टिको भुङ्ग्रो निभ्छ कि झन् सल्किन्छ ? केही दिनमै थाहा हुनेछ ।