विदेशी मुद्राको अपचलन बढ्दो, ९ महिनाभित्र १०७ जनामाथि २ अर्बको मुद्दा

तस्करी र आपराधिक गतिविधिमा अवैध मुद्रा प्रयोगको जोखिम
वैशाख २१, २०८२ |रमेश धमला
विदेशी मुद्राको अपचलन बढ्दो, ९ महिनाभित्र १०७ जनामाथि २ अर्बको मुद्दा

काठमाडौं । काठमाडौंको टोखाबाट एकै व्यक्तिबाट २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको पनि ४९ दिन बितिसकेको छ । तर सरकारका अनुसन्धान निकायहरूले त्यसको स्रोत अझै खोज्न सकेका छैनन् ।

केही वर्षयता नेपालमा भइरहेका अवैध तस्करीमा अमेरिकी डलर र युरोको नगदै कारोबार भए पनि मुख्य गिरोह सधैं उम्कने गरेको छन् । तीन वर्षमा करोडौं नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको तथ्यांकले देखाएको छ ।

गत चैत ४ गते काठमाडौंको टोखाबाट १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलर एकसाथ बरामद भयो, जसलाई प्रहरीले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझायो । उक्त रकम सुन तस्करीमा प्रयोग भएको हुन सक्ने आशंकामा विभागले मुद्दा दायर गरेर ट्रक चालक कुसाङ लामा थुनामा पनि गैसकेका छन् । तर यति ठूलो विदेशी मुद्रा कहाँ र कसरी संकलन भयो भनेर विभागले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

राष्ट्र बैंकको अनुमतिमा मात्रै विदेशी मुद्रा आधिकारिक केन्द्रबाट सटही गर्न सकिन्छ । तर, सामान्य ट्रक चालकलाई जिम्मा लगाउने गरी २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा संकलन र सटही कसरी भयो भनेर सुइाकोसम्म पाउन नसक्दा विभाग झस्किएको छ । विभागका अधिकारीहरूले यो रकमका बारेमा औपचारिक प्रतिक्रिया दिन मानेका छैनन् । 

तर, बरामद भएको युरो र अमेरिकी डलरमा उल्लेख नोटका नम्बरहरू क्रमैसँग छन्, जुन सामान्य बजारमा संकलन गर्न नसकिने खालका छन् । कुनै कूटनीतिक संयन्त्रले प्रयोग गर्न ल्याएको जस्तो देखिने उक्त रकमको स्रोत खोज्ने प्रयास भइरहेको विभागको भनाइ छ । अवैध तस्करीमा संलग्नहरूले विदेशी मुद्राको प्रयोग बढाउँदा बैंकिङ संयन्त्रबाहिर विदेशी मुद्राको अस्वाभाविक कारोबार पनि बढेको छ । 

राजश्व अनुसन्धान विभागले पछिल्लो ९ महिनामा ९६ करोड १७ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेर मुद्दा चलाएको छ, जसमा २ अर्ब १३ करोडको बिगो दाबी गरिएको छ भने १०७ जनालाई प्रतिवादी बनाइएको छ । नेपालबाट विदेश जानेमध्ये एकै जनाको साथबाट १ लाख १६ हजार डलरसम्म बरामद भएको छ । यस्तै, नेपाल प्रहरीले पनि विदेशी मुद्राको अवैध कारोबार सम्बन्धमा तीन वर्षमा निकै ठूलो कारबाही गरेको छ । गत साउनयता १ लाख ५ हजार अमेरिकी डलर र ८७ हजार युरो बरामद गरेको प्रहरीले ७९ लाख भारतीय नोट बरामद गरेको छ । 

प्रहरीले चैतसम्म बरामद गरेको ५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा अवैध धन्दामै प्रयोग भएको हो । तीन वर्षमा प्रहरीले ९ लाख ७५ हजार अमेरिकी डलर, १ लाख ९८ हजार युरो बरामद गरेको तथ्यांक छ । यो अवधिमा अन्य देशका मुद्रासहित कुल ३५ करोड ५६ लाख नेपाली रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद भएको प्रहरीको तथ्यांक छ । अवैध कारोबारको क्रिप्टो र अनलाइनमार्फत भुक्तानी हुँदा अनुसन्धानमा समेत चुनौती बढेको छ । 

यस्तो बेला विदेशी मुद्राको यो तहको अपचलनले आर्थिक अपराध मात्रै होइन अन्य अपराधमा समेत लगानी हुन सक्ने जोखिम बढाएको छ । ६० किलो सुन तस्करीमा ३ अर्बभन्दा बढीको बिगो दाबी गरेर मुद्दा चलाइँदा त्यसको सबै भुक्तानी क्रिप्टोमा भएको प्रहरी अनुसन्धानबाटै खुलेको थियो । त्यो रकम विदेशमा डलरमै भुक्तान गरिएको हो । बैंकिङ प्रणाली बाहिर रहेको रकम र त्यसको लगानीका कारण नै अहिले मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा परेको छ । त्यसैले विदेशी मुद्राको अपचलन गर्नेहरूको सञ्जालमाथि व्यापक अनुसन्धान र कारबाही जरुरी छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।