बुटवल उपमहानगरद्वारा महिलाहरू सम्मानित

वैशाख १८, २०८२ |अमृता अनमोल
बुटवल उपमहानगरद्वारा महिलाहरू सम्मानित

बुटवल । प्रकृतिसँग जुध्दै सडक व्यापार गर्नु सहज छैन ।

त्यसैमाथि सडक क्षेत्र खोसियो भनेर प्रहरीले लखेट्दा बुटवलका सडक पेटीका व्यापारीहरू आजित छन । अनेक समस्यामा जुध्दै सडक पेटीमा व्यापार गरेर गुजारा चलाएका महिलालाई बुटवल उपमहानगरले भने नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

सडक पेटीमा मकै पोल्ने, पात टिप्ने र ई-रिक्सा चलाएर गुजारा चलाउने ३० महिलाहरू सम्मानित भएका हुन् । काम सानो ठूलो हुँदैन, श्रमको सम्मान गरौं सामाजिक न्याय स्थापना गरौ भन्ने नारासहित बुटवल उपमहानगरले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्न भन्दै सम्मान गरेको हो । सम्मानले श्रम गर्न र आत्मनिर्भर हुन थप प्रेरणा मिलेको महिलाहरूले बताए ।

बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा सडक पेटीमा व्यापार गरेर गुजारा चलाउने महिलाहरूलाई सम्मान गर्न थालेको हो । शहरीकरण बढ्दै जाँदा पछिल्लो समय बुटवलका सडक पेटीमा ससाना व्यापार गरेर गुजारा चलाउनेहरू बढेका छन् । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।