सिरहा । सिरहा कारागारमा मदिरादेखि लागूऔषधसम्म छिर्ने गरेको, पैसा तिरेर बाहिर घुम्न समेत पाइने गरेको तथा कारागारमा मासिक लाखौं रुपैयाँ उठाइने गरिएको प्रमाणसहित कान्तिपुर टेलिभिजनले आठ महिनाअघि समाचार प्रसारण गर्यो । यो समाचार सार्वजनिक भएपछि नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा गठित छानबिन समितिले सरकारी कर्मचारीदेखि आन्तरिक प्रशासन चलाइरहेका कैदीसम्मलाई दोषी देखाउँदै प्रतिवेदन बुझायो ।
तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्न आलटाल हुँदै आएको छ । प्रतिवेदन कार्यान्वयन गराउन खोज्दा आठ महिनामा मात्रै तीन जना जेलरको सरुवा भएको छ ।
सिरहा कारागारमा प्रहरी प्रशासनकै मिलेमतोमा हुँदै आएको मदिरादेखि लागूऔषधसम्मको कारोबार र त्यस्ता अवैध कार्यबाट हुँदै आएको लाखौंको असुली धन्दाबारे कान्तिपुरले खुलासा गरेको आठ महिना भयो । यो समाचारपछि नेपाल प्रहरीका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा गठित छानबिन समितिले डेढ महिना लगाएर गत पुस ४ मा जिल्ला सुरक्षा समितिमा ९० पृष्ठको प्रतिवेदन पनि बुझायो । सरकारी कर्मचारीदेखि कारागारको आन्तरिक प्रशासन चलाइरहेका कैदीसम्मलाई सरुवा र कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।
तर, प्रतिवेदन बुझाइएको ६ महिना नाघे पनि कारागार व्यवस्थापन विभागदेखि जिल्लाका निकायसम्मले कार्यान्वयनमा कुनै चासो दिएका छैनन् ।
कान्तिपुरले कारागारको आन्तरिक प्रशासन चलाइरहेका मूल नाइके विजय महतो र नाइके इन्द्रजित यादवले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको दृश्य, पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने गरेको तथ्य तथा पैसा तिरेर कैदीहरू बाहिर निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट मचाउने अनि चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाखभन्दा बढी उठाउने गरेको तथ्य सार्वजनिक गरेको थियो । तर, यसमा संलग्नहरूमाथि कारबाहीमा आलटाल हुँदा सिरहा कारागारमा यस्तो धन्दा अझै रोकिएको छैन ।
कारागार जस्तो संवेदनशील ठाउँमा अवैध कार्य हुनु र सार्वजनिक हुँदा पनि यसमा संलग्नमाथि कारबाही नहुनुले यसमा सरोकारवाला सरकारी निकायको मिलेमतोको आशंकालाई बल दिइरहेको छ । यो घटनाले सरकारी निकायभन्दा अपराध गरेर जेल सजाय काटिरहेका कैदीहरू नै शक्तिशाली देखिएको सिरहाका स्थानीयको आरोप छ ।
यति मात्र होइन, कारागार घटनाको प्रतिवेदन कार्यान्यवन गराउन खोज्दा यो आठ महिनामा मात्रै तीन जना जेलरको सरुवा भएको छ । यस कारागारको सुरक्षामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । यस्तै जिल्ला प्रशासन कार्यालय, र कारागार कार्यालय, सिरहाले पनि यहाँ प्रत्यक्ष निगरानी राख्छ । महिला र पुरुष गरी यहाँ ५ सयभन्दा बढी कैदीबन्दी छन् ।