काठमाडौं । नागरिक अगुवा तथा राजनीतिक दलका नेताहरूले अहिले देखिएका असन्तुष्टि सम्बोधनका लागि दलको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै नेताहरूको आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आज आयोजित ‘गणतन्त्र नै सही बाटो’ नामक विचार गोष्ठीका सहभागीहरूले दलहरू सुशासन र सेवा प्रवाहमा चुक्दै आएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताएका छन् ।
अहिले विभिन्न स्तरमा प्रश्न उठ्नुमा व्यवस्थाभन्दा पनि नेतृत्वको कार्यशैली मुख्य कारक रहेको भन्दै उनीहरूले नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको आवश्यकता औंल्याए ।
लोकतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेताहरूले पनि अहिले देखिएका असन्तुष्टि हटाउन नेतृत्व परिवर्तन र रूपान्तरणमा जोड दिएका थिए । हरेकजसो राजनीतिक दलमा आन्तरिक लोकतन्त्रको स्थिति कमजोर रहेको उल्लेख गर्दै उनीहरूले प्रश्न उठाउनेहरूले मूल्य चुकाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे ।
यस्तै पार्टीहरूमा पञ्चायतीकरण र नेताहरूको देवत्वकरण कायम रहेका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको नेताहरूको भनाइ छ ।
गणतन्त्रविरोधी समूहका गतिविधि बढ्न थालेपछि २०६२-२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाहरू विचार विमर्शमा जुट्न थालेका छन् । आजदेखि त्यसको सुरुआत गरेको र बहस जारी राख्ने नागरिक अगुवाहरूले बताएका छन् ।