यातायात व्यवसायीको आन्दोलनले गण्डकी प्रदेशमा आज पनि यात्रुलाई सास्ती

जेष्ठ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
यातायात व्यवसायीको आन्दोलनले गण्डकी प्रदेशमा आज पनि यात्रुलाई सास्ती

कास्की । गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिने नियमावली जारी गरेको विरोधमा गण्डकीका यातायात व्यवसायी आज पनि विरोधमा उत्रिएका छन् । प्रदेश सरकारले वार्ता समिति गठन गरी वार्तामा आउन गरेको अनुरोधलाई लत्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीले यातायात ठप्प पारेका कारण सर्वसाधारण यात्रुलाई सकस भएको छ । आन्दोलनका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ । संघीय कानुनको बर्खलाप सार्वजनिक यातायात सेवाको योगदानलाई बिर्सिएर सरकारबाट निजी नम्बर प्लेटलाई पनि सार्वजनिक यातायात सरह मान्यता दिइने काम निन्दनीय भएको आन्दोलन संघर्ष समितिको भनाइ छ । 

गण्डकी प्रदेशले राइड शेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि व्यवसायीले विरोधस्वरूप सार्वजनिक सवारीका साधन ठप्प पारेका हुन् ।

यसैबीच, सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरू मजदुर संघ/संगठनहरूको केन्द्रीय संघर्ष समितिले आज दिउँसो एक घण्टा काठमाडौंको चक्रपथ सडक खण्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारी साधनहरू ट्याक्सी, बस, ट्रक लाइनबद्ध गरेर चक्काजाम गरेका छन् । यदि सरकार संवेदनशील नभए जेठ १९ गतेदेखि देशव्यापी सवारी साधन घर ग्यारेजमा थन्काउने र आमहडताल गर्ने चेतावनी पनि समितिले दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.