काठमाडौं । केही दिनयता देशभर तापक्रम बढेको छ । विशेष गरी दिउँसोको समयमा चर्को घाम लाग्ने र हावा समेत कम चल्ने भएकाले घरबाहिर निस्किएर काम गर्न समेत कठिन भएको छ । तर भोलिदेखि वर्षाको सम्भावना देखिएकाले केही तापक्रम घट्न सक्ने मौसमविद्ले बनाएका छन् ।
चिकित्सकले भने गर्मी मौसममा हुन सक्ने जोखिमबाट सतर्क रहन सुझाएका छन् ।
शनिबार सबैभन्दा उच्च तापक्रम भैरहवामा ४२.२ डिग्री सेल्सियस मापन भएको छ । यसैगरी नेपालगन्जको ४०.६ र धनगढीको तापक्रम ४१ डिग्री पुगेको छ । जनकपुरमा ३८.३, सिमरामा र दीपायलमा ३८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै वीरेन्द्रनगरमा ३७.३, घोराहीमा ३६.९ र विराटनगरमा ३६.५ पुगेको छ । चर्को घाम लाग्ने र हावा समेत कम चल्ने गरेकाले यी स्थानमा अत्यधिक गर्मी महसुस भएको छ ।
चैत अन्तिमसम्म बिहान बेलुका चिसो महसुस हुने काठमाडौंमा पनि अहिले निकै गर्मी छ । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३२.७ डिग्री सेल्सियस मापन भएको छ । तराई र भित्रि मधेशमा पर्ने जिल्लामा त गर्मीले खपिनसक्नु छ । उच्च तापक्रमका कारण मानिसको दिनचर्या नै प्रभावित छ ।
पछिल्लो एक सातायता पानी परेको छैन । त्यही कारण गर्मी बढेको हो । तर आइतबारदेखि हल्का वर्षा हुने सम्भावना देखिएकाले तापक्रम केही घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबारदेखि विशेषतः केही दिनदेखि बढ्दै गएको तापक्रम बिस्तारै घट्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो । दाहालका अनुसार आइतबारबाट नै देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना छ । “अब वर्षाकै कुरा गर्नुपर्दा मधेश प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । जुन मेघ गर्जन सहितकै हुन्छ र पर्सि सोमबारको कुरा गर्नु पर्दा सोमबार पनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिन्छ र वर्षा हुँदा मेघगर्जन सहितको वर्षा हुने सम्भावना देखिन्छ”, उहाँले बताउनुभयो ।
विशेषगरी वैशाख र जेठमा चर्को घाम लाग्ने र पानी समेत कम पर्ने भएकाले अत्यधिक गर्मी महसुस हुन्छ । पानी परेका बेला केही शितल भए पनि घाम लाग्ने बित्तिकै फेरि उस्तै भइहाल्छ । यो बेला झाडापखाला, डेंगी, निमोनिया लगायतको संक्रमण हुने भएकाले सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।
मौसम अनुसार तापक्रम घट्नु र बढ्नु सामान्य हो । तर त्यही अनुसारको व्यवहार गर्न नसके जोखिम समेत निम्तन सक्छ । अहिले तापक्रम बढेका बेला आफ्नो स्वास्थ्यका बारेमा सचेतना अपनाए जोखिम कम गर्न सकिन्छ । अनि तापक्रम बढोस् वा घटोस्, यो मौसममा बाहिर हिँड्दा छाता बोकेरै हिँडेको राम्रो भन्छन्, चिकित्सकहरू ।