विचार राख्नेमाथि व्यभिचार !

संगठित साइबर बुलिङको प्रवृत्तिले वाक् स्वतन्त्रताको हनन
संवैधानिक अधिकार प्रयोग गर्दा पनि सार्वजनिक व्यक्तित्वमाथि बारम्बार हमला
वैशाख १३, २०८२ |अञ्जना लामिछाने
विचार राख्नेमाथि व्यभिचार !

काठमाडौं । सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चमा व्यक्तिले आफ्ना विचार, मत र तर्कहरू लेख्दा वा बोल्न डराउनुपर्ने स्थिति आयो भने त्यस्तो अवस्थालाई लोकतन्त्र भन्ने कि नभन्ने ? मिडियामा कसैले प्रकट गरेको मत मन परेन भने त्यो व्यक्तिलाई कतिसम्म खेद्ने ? 

संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । तर नेपाली समाजमा आफ्नो मतविपरितको विचार राख्नेहरूको पेशा, व्यवसाय मात्र होइन, मानसिक स्वास्थ्य र जीवनमा नै प्रतिकूल असर पर्ने गरी आक्रमण हुन थालेको छ । यसले लोकतान्त्रिक व्यवस्था अंगिकार गरे हाम्रो समाजको व्यवहार भने अलोकतान्त्रिक हुँदै गएको देखिएको छ ।

लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा बलियो पक्ष अभिव्यक्ति स्वतन्त्रता हो । तर व्यवहारमा भने बोल्न समेत डराउनुपर्ने वा आफूले विचार राखेकै आधारमा सामाजिक बहिष्कारसम्म खेप्नुपर्ने ? 

अहिले सार्वजनिक जीवन भएका कतिपय व्यक्तिले सामाजिक सञ्जालमार्फत संगठित रूपमा हमलाको शिकार हुनुपर्ने स्थितिको सामना गरिरहेका छन् । त्यसमा पनि कलाकारहरूले सामान्य टिप्पणी गरेकै आधारमा होच्याउने, बहिष्कारको संगठित अभियान नै चलाउने र साइबर बुलिङ गर्ने प्रवृत्ति बढ्दो छ । दिग्गज कलाकारहरू हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठदेखि प्रकाश सपुतसम्मले यसको सामना गरेका छन् ।

एक जना नेताको व्यक्तिगत जीवनका बारेमा गरेको टिप्पणीलाई लिएर मानसिक अवस्था नै निकै समयसम्म बिथोलिएको अनुभव प्रकाश सपुतको छ ।

एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले नायिका सुरक्षा पन्तमाथि त्यस्तै हमला भइरहेको छ । बोल्न पाउने पन्तको अधिकारको समर्थनमा बोल्न पनि मानिसहरू सकस मान्ने स्थिति बनेको छ । नायिका ऋचा शर्माले सामाजिक सञ्जालमा लेखेको स्टेटसले पनि यही बोल्छ । शर्मा आफैं पनि यसअघि त्यस्तै अवस्थाबाट गुज्रिएकी पात्र हुन् । अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले यो खराब अवस्था हो । नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हककै रूपमा प्रत्याभूत गरेको छ ।

तर विचार व्यक्त गरेकै आधारमा संगठित वा असंगठित रूपमा बुलिङ गर्ने प्रवृत्ति बढ्दै गएमा त्यसले अभिव्यक्ति स्वतन्त्रमा ठूलो असर पार्ने निश्चित छ । अहिले कसैलाई सामान्य लागे पनि त्यहींबाट सेल्फ सेन्सरसिप सुरु हुनेछ ।

विचारको स्वतन्त्रताका पक्षधरहरू भने यसरी भइरहेको साइबर हमला चिन्ताको विषय भन्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउँछन् ।

खुलेआम सामाजिक सञ्जालमा बुलिङ हुँदा समेत नियामक निकाय मौन छ । साइबर हमलाकै कारण प्रकाश सपुत निर्देशित चलचित्रको व्यापार नै प्रभावित भयो । सुरक्षा पन्त अभिनित चलचित्र खेल अहिले प्रदर्शनमा छ । तर पन्तमाथिको हमलाकै कारण फिल्मको व्यापार खराब भएको छ । कलाकारिता आफैंमा विचार र अभिव्यक्ति स्वन्त्रताको सबैभन्दा सशक्त माध्यम हो । आज तिनै कलकार लगातार विचार व्यक्त गरेकै आधारमा अपहेलित हुनुपर्ने अवस्था लोकतान्त्रिक व्यवस्था र सभ्य समाजका लागि चिन्ताको विषय हो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।