नेपाल भ्रमणमा रहेका भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरद्वार अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन

वैशाख ९, २०८२ |दीपेन्द्र शाक्य
नेपाल भ्रमणमा रहेका भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरद्वार अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन

संखुवासभा । नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।

ऊर्जामन्त्री दीपक खड्कासँगै भारतीय मन्त्री खट्टरले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदारसँग जानकारी लिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । त्यससक्रममा उहाँहरूले आयोजना अन्तर्गतको ’युनिट–२’ को संयुक्तरूपमा उद्घाटन पनि गर्नुभयो । 

भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । ऊर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै १० वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यमा यसले ठूलो टेवा दिने बताउनुभयो ।

अरुण नदीमा निर्माणाधीन ९ सय मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ । आयोजनाको शिलान्यास २०७५ वैशाखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा गर्नुभएको थियो । १ खर्ब ४ अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।