ताप्लेजुङ दुर्घटना अपडेट : चालक बाहेक तीन मृतक एकै परिवारका

वैशाख ८, २०८२ |आनन्द गौतम
ताप्लेजुङ दुर्घटना अपडेट : चालक बाहेक तीन मृतक एकै परिवारका

ताप्लेजुङ । सोमबार बिहान सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका- १५ का ७० वर्षीय विनोद पौडेल, ६९ वर्षीया सरिता पौडेल, ललितपुर नगरपालिका- १६ कि आद्या आचार्य र जीप चालक फुङलिङ- १० का दुर्गा भट्टराई रहेका छन् ।

चालक बाहेक तीन जना एकै परिवारका सदस्य हुन् । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अर्का एक जनाको अवस्था सामान्य छ । घाइते दुई जना पनि सोही परिवारका आमाछोरा हुन् । आमा सविना पौडेल आचार्य र छोरा नौ वर्षीय भाव्यन आचार्यको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । 

घटनाका प्रत्यक्षदर्शी जनार्दन भण्डरीका अनुसार आफूहरू सेवारो चोक पुग्दा एक जना बालक सडकमा दौडिँदै गरेको देखेर आफूहरूले गाडी रोक्दा करिब ५० मिटर अगाडि अर्को गाडी जलिरहेको थियो । “गाडी दनदनी बल्दै थियो । त्यति बेला हामीले केही गर्न सक्ने अवस्था भएन । गाडीको डेढ फिट जति नजिकमा एक जना महिलाले हात हल्लाएको देख्यौं । त्यसपछि त्यता गयौं । उहाँलाई तानेर वर ल्यायौं । अरू गाडीमा भएकालाई निकाल्न सकिने अवस्था थिएन । यात्रु लिएर जाँदै गरेको गाडी रोकेर बालक र ती महिलालाई लिएर सदरमुकाम फर्कियौं । सुकेटार आइपुग्दा एम्बुलेन्स आयो र एम्बुलेन्समा बिरामी हालेर अस्पताल आयौं”, उहाँले भन्नुभयो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।