पर्सा । पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । आज दिउँसो दुई समूहबीच झडप हुँदा वीरगन्ज तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको हो ।
भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समूहबीच झडप भएको थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । झडपपछि वीरगन्जमा अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसअघि वीरगन्जस्थित महावीर मन्दिरबाट निकालिएको शोभा यात्रा वीरगन्ज परिक्रमा गर्ने क्रममा छपकैया चोक पुग्दा झडप भएको हो । छपकैया पुगेपछि दुई फरक फरक समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
स्थिति तवानग्रस्त बन्न पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले केही थान अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।