पर्सा । निष्पक्ष पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता उपेन्द्र ठाकुर सम्मानित हुनुभएको छ । बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं साधारण सभामा कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता ठाकुरलाई ‘पत्रकार सम्मान २०८१’ बाट सम्मानित गरिएको हो ।
तराई यातायातको १८ औं साधारण सभामा प्रमुख अतिथिको रूपमा पुग्नुभएको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले संवाददाता ठाकुरलाई कदरपत्रले सम्मान गर्नुभएको हो । निष्पक्ष पत्रकारिताको माध्यमबाट समाज र समुदायलाई सुसूचित गराउँदै आमसञ्चारको माध्यमबाट यातायात क्षेत्रका गतिविधिलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गरेर उल्लेखनीय योगदान पुर्याएकामा उच्च प्रशंसा गर्दै संघको नीति अनुरूप ठाकुरलाई सम्मान गरिएको कदरपत्रमा उल्लेख छ ।