अपडेट- पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

चैत्र ३०, २०८१ |माधव अर्याल
अपडेट- पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । बिहान ४ बजेतिर खसेको पहिरो र कल्भर्टमा फसेको टिपरका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । कल्भर्टमा फसेको टिपर निकालिएको छ भने पहिरो सफा गरिएको छ ।

एकतर्फी सडक खुलाएर पाल्पादेखि बुटवल र बुटवलदेखि पहाडी भेगमा आउने सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले बुटवलबाट पाल्पा आउँदै गरेको कारसमेत पुरेको थियो । लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गुडिरहेको कारलाई माथिल्लो भागबाट खसेको पहिरोले पुरेको हो । कारका चालक र यात्रु भने सामान्य अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ ।

तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर फसकेको टिपर ठूला मेसिनको सहायताले निकालिएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमासमेत कल्भर्ट, नालीलगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

पाल्पाको सिद्धबाबा क्षेत्रको खसेको पहिरोमा तराईबाट पाल्पालगायत गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्लगायतका गन्तव्यमा पुग्ने सवारी साधन गुड्ने गर्छ । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान हिउँद होस् वा सुख्खायाम जहिलेसुकै खस्ने समस्या छ । 

याे पनि :

सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।