काठमाडौं । चीनसँगको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको अमेरिकाले जनाएको छ। जेनेभामा जारी दुई देशका अर्थमन्त्री स्तरीय छलफलका क्रममा ह्वाइट हाउसले चीनसँग सम्बन्ध पुनःस्थापना भएको घोषणा गरेको हो ।
जेनेभा वार्तामा सहभागी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले छलफललाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गर्नु भएको छ भने चीनका उपप्रधानमन्त्री हे लाइफेङले वार्ता ‘गहन’ र ‘स्पष्ट’ भएको बताउनुभयो ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ ।
अमेरिका हाल १२ सय अर्ब डलरको व्यापार घाटामा छ । यही कारणले गर्दा अमेरिकाका राष्ट्रपति डनल्ड ट्रम्पले थप कर लगाउने घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले चिनियाँ आयातमा १ सय ४५ प्रतिशत कर लगाएपछि बेइजिङले केही अमेरिकी सामानहरूमा १ सय २५ प्रतिशत कर लगाएको थियो । त्यसयता दुई देशहरूबीचको यो पहिलो प्रत्यक्ष भेटघाट हो । दुई देशबीचका ठूला शुल्कहरूले वित्तीय बजारमा हलचल निम्त्याएको थियो भने विश्वव्यापी मन्दीको त्रास सिर्जना गरेको थियो ।
पहिलो दिनको वार्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीचको सम्बन्धमा ‘पूर्ण पुनर्स्थापना’ भएकोमा प्रशंसा गर्नुभएको छ । सामाजिक सञ्जालको एक पोस्टमा, अमेरिकी राष्ट्रपतिले वार्तालाई ‘धेरै राम्रो’ भनेर वर्णन गर्दै ‘मैत्रीपूर्ण तर रचनात्मक तरिकाले वार्ता गरिएको’ बताउनुभयो ।