पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । बिहान ४ बजेतिर खसेर पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्णरुपमा क्षतिपुगेको छ ।
बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ । दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।
यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेतिरबाटै सडक अवरुद्ध भएको चालक पिताम्बर भट्टराईले बताए ।
सिद्धबाबा क्षेत्रमा सुरूङ निर्माणका साथै अहिलेको राजमार्गमासमेत कल्भर्ट, नालीलगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
पाल्पाको सिद्धबाबा क्षेत्रको खसेको पहिरो पार गर्दै पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्लगायतका गन्तव्यमा पुग्ने सवारी साधन गुड्छन् ।
यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ ।