डडेल्धुरामा गोलभेंडा र काँक्रोको हाइब्रिड बीउ उत्पादन सुरु

चैत्र २९, २०८१ |वरुण पनेरू
डडेल्धुरामा गोलभेंडा र काँक्रोको हाइब्रिड बीउ उत्पादन सुरु

डडेल्धुरा । तरकारीका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि डडेल्धुरामा पहिलो पटक गोलभेंडा र काँक्रोको हाइब्रिड बीउ उत्पादन सुरु गरिएको छ । विदेशबाट हाइब्रिड बीउ ल्याएर रोप्ने बानीले बीउ उत्पादन नै हुन छोडेको कुरालाई मध्यनजर गर्दै स्थानीयस्तरमा बीउ उत्पादन गर्ने लक्ष्य साथ काम थालिएको हो ।

सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरामा हाइब्रिड जातका तरकारीका बीउ उत्पादन थालिएको छ । तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्र डडेलधुराले गोलभेंडा र काँक्रोको बीउ उत्पादन थालेको हो । 

सिर्जना जातको गोलभेडाको पोथी बिरुवा रोपेर हाइब्रिड बीउ उत्पादनको सुरुआत गरिएको छ । त्यस्तै काँक्रोको पनि वर्णशंकर बीउ उत्पादन गर्न थालिएको छ । सिर्जना जातको गोलभेंडा र मधु जातको काँक्रोको हाइब्रिड बीउ उत्पादनका लागि हाइटेक टनेलभित्र बिरुवा हुर्काउन थालेको केन्द्रले जनाएको छ ।

साढे एक रोपनी क्षेत्रफलमा टमाटरका भाले र पोथी बिरुवा छुट्टाछुट्टै हुर्काइँदै छन् । केही दिनमै डेढ रोपनी क्षेत्रफलमा नै गोलभेंडाका बिरुवा पनि रोपिँदैछ । सुदूरपश्चिम प्रदेशलाई नै हाइब्रिड बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादन गर्न थालिएको केन्द्रले जनाएको छ । यस वर्ष टमाटरको मात्रै करिब पाँच किलो बीउ उत्पादन गर्ने लक्ष्य लिइएको छ । 

पछिल्ला वर्षहरूमा हाइब्रिड बीउको माग बढ्दै गएको किसानले छोटो समयमा बढी उत्पादन गर्न सक्ने जनाइएको छ । नेपालमा हालसम्म नार्कले मात्रै हाइब्रिड बिउ उत्पादन गर्दै आइरहेको छ । जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले राम्रो सम्भावना देखेर पहिलो पटक हाइब्रिड मूल बीउ उत्पादनको सुरुआत गरेको हो ।

केन्द्रले हाल हाइब्रिड बीउसँगै मिनुअर्ली जातको मुला, खुमल रातो पात रायो, सिमी लोकल केराउ, स्थानीय जातको धनियाँ, रेड क्रियोल प्याजको पनि मूल बीउ उत्पादन गरिरहेको छ । तरकारीमा ९० प्रतिशत बीउ वर्णशंकर प्रयोग हुन्छ । गोलभेंडा र काँक्रोको परीक्षण उत्पादन सफल भए भेडेखुर्सानी, भिन्डी लगायतका तरकारीको पनि हाइब्रिड बीउ उत्पादन गर्ने लक्ष्य छ ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।