खोटाङ । चट्याङ लागेर खोटाङमा दुई महिला घाइते भएका छन् ।
आज बिहान चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल घाइते भएका हुन् ।
दुवै घाइतेको गाउँपालिकास्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ ।
कृष्णमायाले घरभित्र भान्छामा काम गरिरहेका बेला चट्याङ परेको थियो । चट्याङ परेका बेला घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको स्थानीयले बताएका छन् । भित्र गएर हेर्दा कृष्णमाया बेहोस अवस्थामा भेटिएको आफन्तले जनाए ।
कृष्णमायाकै घर नजिक रहेको देविकाको भने चट्याङ परेका बेला अत्तालिएर भाग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भुपेन्द्र बस्नेतले बताउनु भयो । देविकाको टाउकोमा ५ टाँका लगाइएको छ । घाइते दुवैलाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनु भएको थियो ।