सप्तरीमा जसपा कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

चैत्र २८, २०८१ |आरएन विश्वास
सप्तरीमा जसपा कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

राजविराज । सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताबीच आज कुटपिट भएको छ । विष्णुपुर गाउँपालिका–१ को वडा अधिवेशनका क्रममा विवाद बढेपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । दुई पक्षबीच भएको झगडामा दुई जना घाइते भएका छन् ।

कुटपिटमा घाइते भएका समाजवादी युवा संघ नेपाल, सप्तरीका अध्यक्ष केदारप्रसाद यादव र समाजवादी युवा संघ नेपाल, विष्णुपुर गाउँपालिका समितिका अध्यक्ष देवेन्द्र यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

घाइते दुवैको टाउकोमा चोट लागेको अस्पतालका चिकित्सकले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताउनु भएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।