धनुषा । मठमन्दिर र पोखरी सरोवर प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पहिचान हुन् । तर यो धार्मिक नगरीका मठमन्दिरको संरक्षण गर्नुपर्ने जनप्रतिनिधिले नै बहुमूल्य जग्गा कब्जा गरेको घटना एकपछि अर्को खुल्दै गएको छ । हत्याको आरोपमा महन्थ लामो समयदेखि फरार रहेका कारण ऐतिहासिक मठमन्दिरको अवस्था पनि दयनीय छ ।
उपमहानगर प्रमुख मनोजकुमार साहले जनकपुरधामका मठमन्दिरको जग्गा जनप्रतिनिधिले नै कब्जा गरेको केही दिनअघि कान्तिपुर टेलिभिजनसँग स्वीकार गर्नुभएको थियो । जनकपुरधाम उपमहानगरपालिका- ८ ज्ञानकुप विद्यालय नजिक रहेको रत्तनसागर मन्दिरको यो ८ कठ्ठाभन्दा बढी जग्गा प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले कब्जा गरेको पाइएपछि उपमहानगर प्रमुखले दिएको अभिव्यक्ति पुष्टि भएको छ ।
पञ्चकोशी परिक्रमा सडकको छेउमै रहेको चलन चल्तीको भाउ १२ करोडभन्दा बढी रहेको यो जग्गा यसै ठाउँबाट निर्वाचित प्रदेश सभा सदस्य ठाकुरको एक दशकभन्दा लामो समय देखिको कब्जामा छ ।
आफूमाथिको आरोप निराधार रहेको दाबी गरे पनि निर्माण व्यवसायी समेत रहेका ठाकुरले ठूल्ठूला ह्युमपाइप थुपार्नुका साथै निर्माण कम्पनीको गाडीमा इन्धन भर्न यहाा पम्प समेत गाड्नु भएको छ । रत्तनसागर मन्दिरकै छेउमै ६ करोडभन्दा बढीको अर्काे ३ कठ्ठा जग्गा ठाकुरको नियन्त्रणमा छ । जहाँ निर्माण कम्पनीका गाडी राखेर ग्यारेजको रूपमा प्रयोग हुँदै आएको छ ।
मधेश प्रदेश सभामा नेकपा एमाले संसदीय दलका उपनेता समेत रहनुभएका ठाकुरले महोत्तरीको लक्ष्मीनारायण मठको नाममा रहेको जनकपुरधामको रानीशति पेट्रोल पम्प नजिकको ६ कठ्ठाभन्दा बढी बहुमूल्य जग्गा समेत कब्जा गरेको आरोप छ ।
रत्नसागर मन्दिरका तत्कालीन महन्थ वैकुण्ठ दास जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल झाको हत्या आरोपमा ५ वर्षदेखि फरार छन् । झाको हत्या र वैकुण्ठ फरार हुनुको कारण मन्दिरको जग्गा अवैधरूपमा किनबेच नै रहेको छ । गुठी संस्थानको रेकर्ड अनुसार साबिकमा रत्नसागर मन्दिरको ५२ बिघा १४ कठ्ठा ७ धुर तैनाथी जग्गा थियो । सोमध्ये अवैध खरिदबिक्री र कब्जा गर्ने प्रवृत्तिका कारण हाल १९ बिघा १६ कठ्ठा ४ धुर मात्र बाँकी छ ।