गोरखा भूकम्पको १० वर्ष पूरा, बस्ती स्थानान्तरणदेखि पीडितलाई अस्थायी आवास दिनेसम्मका कार्यमा बेवास्ता कायमै

वैशाख १२, २०८२ |सरोज वली|विकास आचार्य
गोरखा भूकम्पको १० वर्ष पूरा, बस्ती स्थानान्तरणदेखि पीडितलाई अस्थायी आवास दिनेसम्मका कार्यमा बेवास्ता कायमै

काठमाडौं । गोरखा भूकम्पको आज १० वर्ष पूरा भएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएका सयौं घर अहिले पुननिर्माणको पर्खाइमा छन् । २०७२ पछि पनि मानवीय र भौतिक क्षति पुर्याउने गरी थप ३ वटा भूकम्प गइसकेका छन् । 

तर, जोखिम पहिचान भएका क्षेत्रको बस्ती स्थानान्तरणदेखि भूकम्पपीडितलाई अस्थायी आवास उपलब्ध गराउनेसम्मका कार्यमा सरकारी बेवास्ता कायमै छ ।

२०७२ बैशाख १२ मा गोरखाको बारपाक केन्द्र बनाएर विनासकारी भूकम्प गएको पनि एक दशक भइसकेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो १० वर्षमा गोरखा भूकम्पका करिब ५६ हजार पराकम्पन आइसकेका छन्, जसमध्ये ४ म्याग्निच्युडका ६ सय २ बटा रेकर्ड भएका छन् । 

पश्चिम नेपालमा भने पछिल्लो २ वर्षमा ७७ वटा भूकम्प मापन भएका छन् । २०८० कात्तिकमा गएको जाजरकोट भूकम्पको पराकम्पन यही बैशाखमा मात्रै ३ पटक रेकर्ड भएको छ । एक दशक अवधिमा भूकम्पका कारण ९ हजार १ सय ४० मानिसले ज्यान गुमाउँदा अर्बौं बराबरको भौतिक क्षति भएको छ ।

नेपाल भूकम्पीय दृष्टिले जोखिमयुक्त मुलुकभित्र पर्छ । दैनिक १० बटा भूकम्प र पराकम्पन जाने गरेका छन् । गोरखासहित पश्चिम नेपालमा गएको भूकम्पका कारण साढे ११ लाख घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। 

तर प्रभावितको पुनर्स्थापनालाई सरकारले प्राथिमकतामा राखेको छैन । २०७२ को भूकम्पका प्रभावित अझै पनि टेकोले अड्याएको घरमा बस्न बाध्य छन् ।

गोरखा भूकम्पले १० लाख ३७ हजार घरमा क्षति पुर्याएकोमा ४ लाख घर पुननिर्माण नभएको सरकारी तथ्यांक छ । तर ती कस्तो अवस्थामा छन्, पीडितहरुले नयाँ घर बनाए वा जोखिमपूर्ण रुपमा भत्किएकै घरमा बसेका छन्, सरकारलाई थाहा छैन । 

डोटी, बझाङ, जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले ९५ हजार घरमा क्षति पुर्याएको छ । त्यसमध्ये चैत मसान्तसम्ममा डोटीका ९ हजार ८ सय ५ र जाजरकोटका ३७ हजार ४ सय ४० घरधुरीको क्षति आकलन भएको छ । 

बझाङको त क्षति आकलन नै सुरु हुन सकेको छैन । अस्थायी आवास निर्माणका लागि भने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले करिब ४ अर्ब रकम उपलब्ध गराइसकेको भएपनि जिल्ला र स्थानीय तहले रकम निकासा नगरिदिँदा पीडितले अस्थायी आवास समेत बनाउन सकेका छैनन् ।

भूकम्प प्राकृतिक कारणले जान्छ । न यसलाई रोक्न सकिन्छ न छेक्न नै । तर, कम्तिमा पूर्वतयारीसहित सुरक्षित स्थान छनोट र भूकम्प प्रतिरोधी संरचना बनाउने हो भने पनि केही हदसम्म क्षति कम गर्न सकिन्छ ।

१९९० सालको महाभूकम्पयता साना-ठूला धेरै भूकम्प र जनधनको ठूलो क्षति भोगिरहँदा पनि पूर्वसावधानी र प्रतिरोधी संरचनामा गम्भीर ध्यान पुगेको छैन । २०७२ सालको र डेढ वर्ष अघिको जाजरकोटको विनासकारी भूकम्प भोगेको र देखेकै पुस्ताले समेत सावधानी र सुरक्षामा जति गर्नुपर्ने हो त्यति ख्याल गरेको देखिन्न । भूकम्पबाट सुरक्षित रहनु र जोखिम न्युनीकरण गर्नु नै भूकम्पप्रतिको प्रतिकार्य हो ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।

Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।