अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनु भएको छ । अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन'को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पार्नु भयाे ।
'यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो,' प्रधानमन्त्री ओलीले भन्नुभयाे, 'विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।'
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको दाबी गर्नु भयो । 'पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो,' उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री ओलीलले पाणिनिले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जलि र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचार-प्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने जिम्मा सरकारले लिने जनाउनु भयो ।
पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको उहाँले दाबी गर्नुभयो । 'ऋषिहरू ध्यान र तपस्याका लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो,' प्रधानमन्त्री ओलीले भन्नुभयो ।