दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव

चैत्र २६, २०८१ |उत्तम चौलागाईं
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव

खोटाङ । जिल्लाकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो ।

नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

 जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो नगरपालिकाको नाम यसअघि दुईपटक परिवर्तन गरिएको थियो । सुरूमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो पालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामकरण गर्ने क्रममा रूपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवं बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यस नगरपालिकाका सेवाग्राहीलाई नागरिकता लगायतका हरेक कागजातमा ठेगाना लामो भएकोले नअट्ने र मौखिकरुपमा भन्न पनि कठिन हुने समस्या भएको छ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।