सम्पदाको विकास, संरक्षण र सम्बर्धनमामा तीन तहकै सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सम्पदाको विकास, संरक्षण र सम्बर्धनमामा तीन तहकै सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरूरी रहेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा ललितपुरको पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरू रहेको बताउनुभयो ।

उहाँले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरू नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्नुभयो । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना, जागरूकता र चासो आवश्यक रहेको बताउनुभयो । भावि सन्ततीका लागि सम्पदाहरू पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी भएको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.