रवि लामिछानेलाई अदालतमा पेश गरिँदै, आजै कारागार चलान गरिने

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई अदालतमा पेश गरिँदै, आजै कारागार चलान गरिने

रूपन्देही । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको छ । अदालतले थुनामा राख्न आदेश दिएलगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान भैरहवा पुर्‍याएको थियो । 

शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई पहिला अदालत पेश गरेपछि मात्रै कारागार पठाउने प्रावधान अनुसार आज अदालत पेश गरे लगत्तै कारागार चलान गरिने प्रहरी उपरीक्षक एसपी रञ्जितसिंह राठौरले बताउनुभयो । 

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालय लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.