काठमाडौं दुई फरक समूहको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा घेरा तोड्न खोजेपछि तीनकुनेमा तनाव

चैत्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं दुई फरक समूहको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा घेरा तोड्न खोजेपछि तीनकुनेमा तनाव

काठमाडौं । संघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन प्रभावित बनेको छ । काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र गणतन्त्रको पक्षमा प्रर्दशन गरिरहेका छन् भने कोटेश्वरस्थित तीनकुनेमा पूर्वराजा पक्षधरले विरोध प्रर्दशन गरिरहेका छन् । 

प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने प्रहरीले अश्रुग्यास तथा पानीको फोहोरा प्रहार गरेको छ । दुवैपक्षले सडक जाम गरेर विरोध प्रर्दशन गरेकाले सर्वसाधारणलाई आवतजावतमा अप्ठेरो परेको छ । माओवादी केन्द्र सहितको चार दलीय समाजवादी मोर्चाले गणतन्त्र विरोधीको चलखेल भइरहेको भन्दै त्यसको विरोधमा प्रदर्शनपछि भृकुटीमण्डपअघि मुख्य सडकमा स्टेज बनाएर विरोध सभा गर्दैछ भने पूर्वराजा पक्षधरले केही बेरमा तीनकुनेस्थित खुला चौरमा विरोध सभा गर्दैछन् । 

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रर्दशनीमार्ग र तीनकुनेमा ठूलो संख्यामा प्रहरी परिचालन गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र सहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध रहेका छन् । पूर्वराजा पक्षको विरोध प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नेतृत्व रहेको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गरेको हो । 

पूर्वराजा पक्षधरको विरोध प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहे पनि अध्यक्ष राजेन्द्र लिङदेन भने सहभागी नहुने राप्रपाले जनाएको छ । पूर्वराजा पक्षधरको विरोध सभामा राप्रपाका रवीन्द्र मिश्र र धवलशमशेर राणा भने सहभागी हुने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.