काठमाडौं । आज काठमाडौंमा दुई फरक फरक समूहको प्रदर्शन हुँदैछ । काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका हुन् ।
त्यसका लागि काठमाडै उपत्यकाभित्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । करिव ३५ सय प्रहरी परिचालन गरिएको छ ।
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । यता, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् ।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरूको बुझाइ छ । दुबै समूहको प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक प्रभावित हुने भन्दै सजगता अपनाउन अपील गरिएको छ ।
यसैबीच काठमाडौं स्थित अष्ट्रेलियन दूतावासले आज काठमाडौंमा घुम्नका लागि ननिक्लन र सुरक्षित रहन आफ्ना नागरिकलाई एडभाइजरी जारी गरेर सूचीत गरेको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।