सिरहा । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा अछुत भन्दै दलितमाथि भएको ज्यादती घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि मुद्दाको अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।
औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा गत ९ गते साँझ गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि १० गते प्रहरीले उनीहरुसँगै बजरंगी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो ।
कानुनअनुसार जातीय भेदभाव तथा छुवाछुत मुद्दाको अनुसन्धानको म्याद २५ दिनसम्म हुन्छ । तर, जिल्ला प्रहरी कार्यालय, सिरहाले ६ दिनमै अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
अनुसन्धान प्रतिवेदन बिहीबार आफ्नो कार्यालयमा आइपुगेको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । अनुसन्धान प्रतिवेदनमा केही त्रुटि देखिए फेरि प्रहरीलाई पठाउने र नदेखिए अदालतमा अभियोग पत्र दायर गरिने उहाँले बताउनुभयो ।
सरकारी वकिलले अभियोग पत्र दायर गरेपछि सिरहा जिल्ला अदालतमा थुनछेक बहस हुनेछ । जातीय छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।