राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

चैत्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्नुहुने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहनुभएका गुरुङलाई नेतृत्व सुम्पनुभएको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले भन्नुभएको छ, 'सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।'

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गर्नुभएको थियो ।

शुक्रबार प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मी सहित दुई जनाको मृत्यु भएको थियो । थुप्रै गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

शुक्रबारको आन्दोलनपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सहित एक सयभन्दा बढीलाई पक्राउ गरेको छ । संयोजक सुवेदीलाई नजरबन्दमा राखिएको छ भने प्रसाईं फरार छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.