काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताउनुभएको छ ।
मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कागजबिहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गर्नुभयो ।
न्यायिक सुधार गर्नैपर्ने भएको जिकिर गर्दै न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको उहाँकाे भनाइ छ । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताउनुभयो ।
प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताउनुभयो ।