कास्की । १६ वर्ष पछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा एमाले निकट अनेरास्ववियुले २४औँ पटक जित निकाल्दै विरासत कायमै राखेको छ ।
विस २०१७ सालमा स्थापना भएको क्याम्पसमा २०२२ सालदेखि स्ववियु चुनाव हुँदै आएको छ । त्यसयता २३औँ पटकको चुनाव अनेरास्ववियुले जितेर विरासत बनाएको थियो ।
२०६५ साल यता स्ववियु चुनाव हुन नसकेको क्याम्पसमा यस पटक भएको चुनावमा भने अनेरास्ववियुले जितेर विरासत पुनः स्थापित गरेको छ । चैत १० गते भएको मतदानको मतगणना आज सकिए संगै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको हो ।
सार्वजानिक मतपरिणाम अनुसार अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेलले एक हजार एक सय ६ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाल विद्यार्थीका संघका सुशील न्यौपानेले जम्मा पाँच सय तीन मत ल्याउनुभयो ।
पिएनमो स्ववियु चुनावमा पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी हुनुभएको छ । त्यसैगरी अर्का स्वतन्त्र चुनाव लडेकी विप्लवी न्यौपानेले चार सय ६९ मत प्राप्त गर्नुभएको छ भने माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा दुई सय २३ मत पाउनुभयो ।
अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलबाट सभापतिको उम्मेदवार बन्नुभएका सन्तोष पौडेलले एक सय ९६ मत मात्र प्राप्त गनुभयो भने अखिल छैटौंका मिलन सुनारले २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत पाउनुभएको छ ।
अनेरास्ववियुबाट सभापतिमा निर्वाचित पोखरेल नेतृत्वमा सचिवमा अनेरास्ववियु कै विराज दुवाडीले एक हजार चार सय १३ लोकप्रिय मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६ सय २८ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्दिका गुरुङ एक हजार तिन सय ४ मतका साथ विजयी हुनुभएको छ । हिजो बिहान १० बजे देखि शुरू मतगणना सकिएर मतपरिणाम सार्वजानिक भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ ।
नौ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने पृथ्वीनारायण क्याम्पसको यस पटकको स्ववियु चुनावमा दुई हजार आठ सय ९७ मत खसेको थियो ।