काठमाडौं । काठमाडौं महानगरपालिकाले 'एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी' नामक संस्थालाई आफ्नो वैधता पुष्टि गर्न ३ दिनको समयसीमा दिएको छ ।
महानगरले चैत ३ गतेसम्म कागजात पेश गर्न मौखिक निर्देशन दिए पनि संस्थाले कुनै पनि कागजात पेश गर्न सकेन । एभियोट्रेसले आफ्नो संस्था कहीँ कतै दर्ता नभएको स्वीकार्दै अब दर्ता प्रक्रियामा जान ४ महिनाको समय मागेकोमा महानगरले ३ दिनको समय दिँदै पत्र काटेको हो । तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए कानुन बमोजिम कारबाही थालिने महानगरले जनाएको छ ।
कलेज ७ वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको तथ्यसहित कान्तिपुर टेलिभिजनले गत फागुन २२ गते रिपोर्ट प्रसारण गरेपछि महानगरले फागुन २८ मा अनुगमन गरेको थियो । त्यसक्रममा सञ्चालकहरूले आफ्नो वैधता स्थापित गर्ने कुनै पनि कागजात पेश गर्न नसकेपछि महानगर टोलीले चैत ३ सम्मको समय दिएको थियो ।
यस्तै शिक्षा मन्त्रालयले पनि एभियोट्रेस नेपालको वैधता माग गर्दै पत्र पठाएको थियो । उक्त पत्रको आधिकारिक जवाफ बिहीबारसम्म नआएको शिक्षा मन्त्रालयका उच्च शिक्षा शाखाका उपसचिव पर्शुराम तिवारीले जानकारी दिनुभयो ।
एभियोट्रेस नेपालले पाइलट र एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर बनाउने सपना देखाएर विद्यार्थीलाई लोभ्याउने गरेको थियो । त्यहाँबाट दिइएको प्रमाणपत्र नेपालका कुनै पनि निकायमा मान्य नहुने भएपछि संस्था बिनादर्ता सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो ।
सम्बन्धित सामग्री :