काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान सवा ११ बजे बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।
यसैगरी, राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१; निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१; आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नुहुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।