काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल)का संस्थापक एवं कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथि विद्यार्थी दुर्व्यवहारको आरोप लागेपछि छानबिन गर्न गठित समितिले विषय क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रतिवेदन बुझाएको छ ।
पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिका सदस्यहरूले संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न नसक्ने भन्दै बुधबार कलेज सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको हो । संग्रौलामाथि लागेको आरोप छानबिनको विषय कानुनी रूपमा समितिको ‘क्षेत्राधिकारभित्र नपर्ने’ भएकाले छानबिन गर्न नसक्ने उल्लेख गर्दै संक्षिप्त प्रतिवेदन बुझाएको समितिका संयोजक भट्टराईले बताउनुभयो ।
कलेजको पाँचौं वर्षमा अध्ययनरत एक विद्यार्थीले कार्यकारी निर्देशक संग्रौलाले कलेजका छात्राहरूसँग अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थिइन् । सोही विषय छानबिनका लागि कलेजले ३ सदस्यीय समिति गठन गरेको थियो ।