काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई संक्रमणकालीन न्याय, ईपीजी प्रतिवेदन, भारतसँगको सीमा विवाददेखि युवाहरूको विदेश पलायनसम्मका प्रश्न सोधेका छन् । संक्रमणकालीन न्यायमा विपक्षी दलकै नेता जिम्मेवार नदेखिएको जवाफ दिनुभएका प्रधानमन्त्रीले विकास निर्माण लगायतका प्रश्नमा भने केही आक्रामक जवाफ दिँदै सबैतिर काम भइरहेको जवाफ दिनुभएको छ ।
'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' मा अन्य के-के विषय उठे त ?
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदको चासो थियो संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न नसकेको र दुई आयोगमा पदाधिकारी नियुक्तिमा देखिएको अन्योल । तर प्रधानमन्त्रीले आयोग गठनमा ढिलाइ हुनुमा माओवादीकै नेतृत्व दोषी देखाइदिनुभयो ।
ईपीजीको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले नबुझेको अवस्थामा नेपालको प्रधानमन्त्रीले बुझ्न मिल्दैन भन्ने विपक्षी दलकै सांसदको प्रश्नमा प्रधानमन्त्रीले उच्चस्तरीय तहमा हुने भेटघाटमा छलफल भइरहेको जवाफ दिनुभएको छ ।
चुच्चे नक्साले समेटेको भूभागमा कहिले भ्रमणमा जानुहुन्छ भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्रीले 'नेपालको नक्सा कसले र किन फेर्यो सबैलाई थाहा छ' भन्दै व्यंग्य गर्नुभएको थियो । यस्तै नेकपा एमालेकै सांसदको प्रश्न थियो- युवाहरू विदेश पलायन भइरहेका छन् । विश्वविद्यालयहरू रित्तिने अवस्था आयो यसलाई रोक्न सरकारले के गरिरहेको छ ।
प्रधानमन्त्रीलाई सांसदहरूले विकासको गति सुस्त रहेको आरोप लगाउँदै कर्मचारी संयन्त्रले काम गर्ने स्थिति नभएको र यति शक्तिशाली सरकार हुँदा पनि के गरिरहेको छ भन्ने प्रश्न सोधेका थिए ।
प्रधानमन्त्रीलाई सांसदहरूले जलन सम्बन्धी गैरसरकारी विधेयकका विषयमा सरकारको धारणादेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन र लुम्बिनी गुरुयोजना लगायतका विषयमा प्रश्न सोधेका थिए । जसमा प्रधानमन्त्रीले सरकार गम्भीर रहेको जवाफ दिनुभएको थियो ।