रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरमा शुक्रबारदेखि लागेको डढेलोले अझै नियन्त्रणमा आउन सकेको छैन ।
स्थानीय लालिगुरास, छहारेछाप पाखामा लागेको डढेलो अहिले पनि तीव्र रूपमा फैलिरहेको स्थानीय सिंहराज योञ्जनले जानकारी दिनुभयो ।
शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण आउन नसक्दा दोरम्बा सैलुङ गाउँपालिकाको महत्त्वपूर्ण वन क्षेत्र सखाप भएको उहाँले बताउनुभयो । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट सुरु भएको डढेलो वडा नं १ डडुवाको ठुलो शैलुङ छुने अवस्थामा पुगिसेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार अहिलेसम्म दुई वटा सामुदायिक वनको मात्रै ९० हेक्टर भन्दा बढी वन क्षेत्र डढेलोले सखाप पारिसकेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लालिगुरास, छहारेछाप पाखा सामुदायिक वनमा शुक्रबार बिहानदेखि लागेको डढेलो नियन्त्रण बाहिर रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक समेत रहनु भएका पौडेलले गोकुलगंगा गाउँपालिका–४ बेताली स्थित लिसेखानी सामुदायिक बनमा शनिबार दिउँसोदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन नसकेको बताउनुभयो ।
दुवै ठाउँमा लागेको डढेलो नियन्त्रण बाहिर रहे पनि स्थानीय सरकार, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरूले नियन्त्रणको प्रयास गरिरहेको उहाँले बताउनुभयो । टोकरपुरमा डढेलो लगाएको आशङ्कामा तीन जनालाई प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
बेतालीको लिसेखानी सामुदायिक वन क्षेत्रमा सल्केको डढेलोको कारण चार/पाँच घर उच्च जोखिममा परेका छन् । जोखिम रहेका घरहरूलाई जोगाउनका लागि अन्नी रेखा बनाउने लगायतका काम गरिएको उहाँले बताउनुभयो । डढेलोको जोखिममा रहेका घरमा रहेका मानिसहरूलाई अन्यत्र जान भनिएको पनि उहाँले बताउनुभयो ।