नेतृत्वको स्वेच्छाचारिताका कारण देशले कठिन परिस्थिति सामना गर्नुपरेको समाजवादी मोर्चाको दाबी

विगतमा कांग्रेस र एमालेसँग सहकार्य गरेर गल्ती गरेको माओवादी अध्यक्ष दाहालको टिप्पणी
चैत्र २, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेतृत्वको स्वेच्छाचारिताका कारण देशले कठिन परिस्थिति सामना गर्नुपरेको समाजवादी मोर्चाको दाबी

काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो अवस्था सामना गर्नुपरेको दाबी गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसक्दा जनतामा आक्रोश बढेको निष्कर्ष समेत मोर्चाले निकालेको छ ।

समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको रवैयाका कारण जनतामा असन्तुष्टि बढेर देशले नै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले विगतमा आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँगको सहकार्यमा सरकार गठन गरेर गल्ती गरेको समेत स्वीकार गर्नुभयो ।

अध्यक्ष दाहालले संविधान जारी भएको १० वर्ष पुग्न लागेकाले अब समीक्षा गरेर अघि बढ्नुपर्ने भन्दै सबै दललाई एकठाउँमा उभिन आह्वान गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध भइरहेका गतिविधिलाई परास्त गर्न आफूहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताउनुभयो ।

अध्यक्ष नेपालले देशलाई प्रतिगमनतर्फ लैजान प्रयास स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

मा‌ओवादी केन्द्र सहितको चार दल सम्मिलित समाजवादी मोर्चाले यही चैत १५ गते संघीय लोकतान्त्रिक प्रणाली विरुद्ध भइरहेका गतिविधि निस्तेज पार्न काठमाडौंमा सभा गर्ने जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement