ललितपुर । ललितपुर महानगर र रूसको बुर्यातियास्थित राजधानी शहर उलान उदेबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुवै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “दुई शहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ ।” ललितपुर महानगर कला, संस्कृति र सम्पदाको शहर भएको बताउँदै उलान उदे शहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको पनि बताउनुभयो ।
उहाँले बुद्धको देश नेपालबाट रूसका जनतालाई सन्देश लिएर आएको बताउँदै रिपब्लिक अफ बुर्यातियाका प्रमुख र उलान उदे शहरका प्रमुखलाई नेपाल आउन निम्तो समेत दिनुभयो ।
रिपब्लिक अफ बुर्यातिया रूसका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताउनुभयो । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजनाहरू संचालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उलान उदे रूसको पुरानो शहर हो । विकासशील यस शहरका विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् ।
समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधन व्यवथापन, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण , ग्यालरी र संग्रहालय स्थापना, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।