बाँके । जबर्जस्ती करणीसँगै कुटपिटको किटानी जाहेरी दर्ता भएको तीन साता बितिसक्दा समेत बाँके प्रहरीले पीडकलाई नियन्त्रणमा लिएको छैन । पीडित महिलाले आफू असुरक्षित भएको गुनासो गर्नुभएको छ । बर्दिया बढैयाताल गाउँपालिका घर भई बाँकेमा काम गर्ने आरोपित राजनीतिक र प्रहरी संरक्षणमा भएकाले आफू असुरक्षित हुन पुगेको पीडितको दाबी छ ।
बाँके कोहलपुर नगरपालिका हवलदारपुरस्थित आफ्नै घरमा जबर्जस्ती करणी गरेको किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितलाई प्रहरीले दर्ता गर्न अस्वीकार गर्दै फिर्ता पठाएको थियो । प्रहरीको व्यवहार विरुद्ध पीडितले नेपालगन्जस्थित उच्च अदालत तुलसीपुरको इजलासमा परमादेशको माग सहित रिट दायर गर्नुभएको थियो । उच्च अदातलले गत माघ १५ उजुरी दर्ता गर्न बाँके प्रहरीलाई आदेश गरेको थियो ।
अदालतको आदेशपछि इलाका प्रहरी कार्यालय कोहलपुरले फागुन ५ गते उजुरी दर्ता गरी ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर प्रहरीले पीडकलाई पक्राउ गर्नुको साटो उल्टै संरक्षण दिएकाले आफू असुरक्षित भएको पीडित महिलाको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले पक्राउ गर्नुपर्ने फरार अभियुक्त १६ सय जना भएकाले पीडितले नै सूचना दिए मात्रै नियन्त्रण लिने भन्दै जिम्मेवारीबाट पन्छिनुभयो । उजुरी दर्ता गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने पक्राउ गर्ने प्रक्रिया अघि बढाए पनि फेला नपरेको बताउनुभयो ।