काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
मेडिकल काउन्सिल सदस्य रहँदै २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायमै रहने अन्तरिम आदेश दिएपछि भने उहाँ ललितपुर–३ बाट प्रतिस्पर्धा गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
सर्वोच्च अदालतको आजको फैसलासँगै उहाँको सांसद पद पनि सुरक्षित भएको छ ।