काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गर्नुभयो ।
आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले पदाधिकार र सचिवालय बैठक समेत बसेका छन् ।
साथै राजतन्त्रवादी समूहहरूलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् । सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरूबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ । फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छौं भने हामी सच्चिनुपर्छ ।”