काठमाडौै । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउँदै महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
उहाँले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताउनुभयो । जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको उहाँको भनाइ छ । आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनैपर्छ । अध्ययन त दिनरात गर्नैपर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन ।कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन । यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताउनुभयो । एउटा न्यायले सबैको विकास हुने विषयमा उहाँले जिकिर गर्नुभयो ।