काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यधिक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताउनुभएको छ । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र उद्योग नभएकाले अत्यधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह गर्नुभयो । उहाँले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरूलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रूपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरू खोल्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षा क्षेत्रमा तपाईंहरू लगानी गर्नुस् । तपाईंहरूको सम्पत्ति कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पत्तिको हकभित्र पर्छ । तपाईंको सम्पत्ति संविधान, नियम कानुन बमोजिम, प्रचलन बमोजिम तपाईंहरूले स्वाभाविक रूपमा आफ्नो सम्पत्ति आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्यधिक मुनाफा ननिकाल्नुस् । यो आईटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरूलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रूपमा विकास गर्ने तपाईंको मूल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन ।”
प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरू हटाउनुपर्ने जरुरी रहेको बताउनुभयो । सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताउनुभयो ।