कोभिडमा जन्मेको उद्यम, वार्षिक करोडको कारोबार

फाल्गुन २४, २०८१ |भरत रावल
कोभिडमा जन्मेको उद्यम, वार्षिक करोडको कारोबार

काठमाडौं । महिला अधिकार र सशक्तीकरणका विषयमा बहस हुन थालेको लामै समय भयो । यो बहसले महिलालाई आर्थिक रूपमा समेत सबल बनाउँदै लगेको छ । कोभिड महामारीका बेला हातेमालो महिला समूहले मास्क बनाएर सुरु गरेको व्यवसाय विस्तार भएर अहिले ४० जना महिलाई घरमै रोजगारी दिइरहेको छ ।

कोभिड महामारीले लाखौं मानिसलाई मानसिक र आर्थिकरूपमा कमजोर बनायो । लकडाउनका बेला घरबाट निस्कने अवस्था थिएन । तर त्यही समय हालेमालो महिला समूहका लागि भने अवसर बन्यो । कोभिडले आक्रान्त बनाएर घरबाट निस्कन सकिने अवस्था नभएपछि समूहका ७ जना महिलाले करिब १५ हजार रुपैयाँ जम्मा पारेर मास्क बनाउन सुरु गरे । अहिले उनीहरूले वार्षिक करोडको हाराहारीमा कारोबार गरिरहेका छन् ।

आर्थिकरूपमा सक्षम नभएका महिला समाजबाटै अपहेलित हुनुपरेको देखेर हातेमालो महिला समूहले आफ्नै उद्यम थालेका हुन् । समूहमा अहिले ७ जना बोर्ड सदस्य छन् भने अन्य ४० जना आबद्ध छन् । उनीहरूले घरमै बसेर काम गर्दै अर्थोपार्जन गरिरहेका छन् । त्यति मात्र नभएर उनीहरूको मनोबल समेत बलियो बनेको छ ।

समूहले अहिले मास्क मात्र बनाउँदैन । पर्यावरणमैत्री झोला, खादा, बोटल, कार्ड होल्डर, कापीदेखि ढाकाका कपडाबाट पोसाक लगायतका ४० प्रकारका सामग्री बनाउँदै आएको छ । यस्ता सामग्री सरकारी तथा गैरसकारी संघसंस्थाहरूले समेत खरिद गर्ने गरेका छन् ।

हातेमालो महिला समूहमा आबद्ध महिलालाई सामग्रीहरू बनाउन भ्याइनभ्याइ छ । उनीहरूले समूह बाहिरका ६० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । आगामी दिनमा अन्य महिलालाई सीप दिएर आत्मनिर्भर बनाउने योजना समेत यो समूहको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।