कुलमानको विषयमा प्रधानमन्त्री- कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् होइन

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमानको विषयमा प्रधानमन्त्री- कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा बोल्ने स्थल नभएको बताउनु भएको छ । उहाँले राष्ट्रसेवक कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् नभएको बताउनुभएको हो । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले केही दिन यता संसद्अवरुद्ध रहेको भन्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठाएर संसद अवरुद्ध गर्न नमिल्ने बताउनु भयो ।

उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै निर्धारण गरेको बताउनु भयो । कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने बताउनु भयो ।

कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल नगरेको खण्डमा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गर्न सकिने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) ले केही दिनयता घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । माओवादी केन्द्रले घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्रीले संसदमा आएर चित्त बुझ्दो जवाफ नदिएसम्म संसद अवरोध जारी रहने अडान राख्दै आएको थियो । आज प्रधानमन्त्रीले जवाफ दिएसँगै संसदको कारबाही अघि बढेको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ राष्ट्रसेवक कर्मचारीहरुको गुण÷दोष टिप्पणी गर्ने स्थल चाहीँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सहि कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला ।’

प्रधानमन्त्री ओलीले अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.